राजनीति

सरकारले भारतसँग वार्तागरी तत्काल सीमा विवाद समाधान गर्नुपर्छः वरिष्ठ नेता पौडेल

पाँचथर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।

काङ्ग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा आज आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, वरिष्ठ नेता पौडेलले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।”

वरिष्ठ नेता पौडेलले अब मङ्सिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि काङ्ग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।

उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लङ्घन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काङ्ग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरे ।

पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धनका लागि काङ्ग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए ।