राजनीति

जस्तोसुकै अफठ्यारो परिस्थितिमा पनि हरेश खानु हुँदैनः बरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकका सामु देखिएका जुनसुकै चुनौतीलाई पनि साहस र धैर्यताका साथ सामना गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले राम्रो परिवार र सामाजिक परिवेष्ट राम्रो भए मात्र देशको अवस्था पनि राम्रो हुने उल्लेख गर्दै निरासालाई समाप्त पार्दै आशामुखी बन्न सबैलाई आग्रह गरे ।

लेखिका उषा थपलियाद्वारा लिखित ‘नारी हारेकी छैन’ र बालप्रतिभा संविदा वाग्लेको ‘नवपल्लव’ कृतिको विमोचन गर्दै उनले भाषा र साहित्य सिर्जना सिङ्गो समाजलाई सही मार्गमा डो¥याउने सशक्त माध्यम हो भने ।

समाजमा रहेका विभिन्न विकृति र विसङ्गतिका विरुद्ध सिर्जनाको माध्यमबाट सशक्त आवाज उठाउन युवापुस्तालाई आग्रह गर्दै उनले भने, “हामी कहिलेकाही नकारात्मक कुरालाई बढी प्रवद्र्धन गछौँ । निरासावाद र शिथिलताले सिर्जनाको यात्रालाई पूर्णबिराम लगाइ दिन्छ, आशावादले चुनौतीको सामना गरी नयाँ सिर्जनामा प्रेरित गर्दछ, त्यसैले जस्तोसुकै अफठ्यारो परिस्थितिमा पनि हरेश खानु हुँदैन र चुनौतीको समाना गरेर अघि बढ्नुपर्छ ।”

वरिष्ठ नेता नेपालले विमोचित पुस्तक ‘नारी हारेकी छैन’ र ‘नवपल्लव’ को विषयवस्तुको गाम्भीर्यता र लेखन प्रस्तुतीको प्रशंसा गर्दै महिला समुदायलाई आशावादी भएर निरन्तर सत्कर्ममा लाग्न उत्साह पैदा गर्ने कृति नेपाली साहित्यका लागि नयाँ उपहार भएको बताए ।

प्रा गोविन्दराज भट्टराईले विशिष्ठ प्रतिभा भएको बाललेखिका संविदाको पुस्तक ‘नवपल्लव’ हरेक शिक्षालय र पुस्तकालयका लागि पठनयोग्य सामग्रीका रुपमा आएको बताए । दुवै कृतिको समीक्षा गर्दै सहप्राध्यापक डा शैलेन्दुप्रकाश नेपालले नेपाली परम्परा र संस्कृतिलाई पश्चिमी चश्मा लगाएर हेर्ने प्रवृत्ति र उग्रनारीवादलाई समन्वयात्मक दृष्टिकोण रहेको पुस्तकमा नारीको परिवार, समाजदेखि सत्तासम्म भोगेको बेहोरेको अवस्थालाई सम्प्रेषण गरिएको उल्लेख गरे ।

उपप्राध्यापक ज्ञानु अधिकारीले विगतका कृतिमा नारीको पीडा, हकअधिकार आदि कुरालाई समेटिने गरेपनि ‘नारी हारेकी छैन’ नामक कृतिले नारी समाजमा सक्षम छन्, अवसर पाए जेपनि गर्न सक्छन् भन्ने सन्देश दिएको बताए ।

प्राज्ञ सदस्य लक्ष्मी उप्रेतीले नारी शक्ति कहिल्यै हार्दिनन् भन्ने सन्देश पुस्तकले दिएको बताए । ओरेण्टियल पब्लिकेशनले प्रकाशन गरेको पुस्तक ‘नारी हारेकी छैन’ भित्र ५३ लेख समावेश छन् भने ‘नवपल्लव’ मा लेखिकाले कक्षा ३ मा अध्ययन गर्दा सात वर्षको उमेरदेखि एसइईसम्मको अध्ययन अवधिमा घुमेका गन्तव्य, भोगेका विषयवस्तु र विभिन्न पत्रपत्रिकामा लेखेका रचनालाई सरल र सटिक ढङ्गले प्रस्तुत गरिएको छ ।

सोही अवसरमा लेखिकाद्वयको शब्द, स्वर र सङ्गित रहेको ‘आमा तिमी पाएर’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।