राजनीति

सरकारलाई सही बाटोमा हिँडाउन पनि उप–निर्वाचन काङ्ग्रेसले जित्नैपर्छः नेता सिटौला

पोखरा । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाएका छन्।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा आज आयोजित घरदैलो एवं कोणसभामा उनले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा लागेको आरोप लगाएका हुन् ।

नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे।

जीवनभर कुनै लोभ मोहमा नफसेका नेता खेमराज पौडेललाई एकपटक जिताएर हेर्न उनले मतदातालाई आग्रह गरे ।

काङ्ग्रेस नेत्री एवं सांसद डा डीला सङ्ग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताउँदै उक्त पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याए । मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताउँदै उहाँले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।