राजनीति

म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ, ओलीले मोदीसंग कुरा नगर्दा दुःख लागिराछः सभापति देउवा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए । “कालापानी नेपालको भू–भाग हो”, उनले भने, “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।”

महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए।

सभापति देउवाले राष्ट्रियताको बिषयमा काँग्रेस सधैं एकठाँउमा भएपनि कम्युनिष्टहरु कुरा ठूला गर्ने तर काम गर्नेबेलामा राष्ट्रियता बिर्षने दाबी गरेका छन् । उनले सरकारले कालापानी, लिपुलेक र लिम्पीयाधुराका बिषयमा नबोलेकोमा आफूलाई दुःख लागेको बताए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग डाईरेक्ट कुरा गरेर समस्या समाधान गर्नुपर्ने भएपनि त्यसो नभएको  बताए ।