प्रदेश 1

‘एक घर एक धारा’ अभियान घरघरमा पुगेपछि १७० घरधुरीमा छायो खुशियाली

वालिङ । खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् ।

खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए ।

“एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तीमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो”, वडाध्यक्ष थापाले भने, “योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै बचत भएको समय अन्य काममा लगाउन सकिने भएको छ ।”

गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी विद्युत्को सहाराबाट तानेर गाउँभन्दा माथि रहेको ट्याङ्कीमा सङ्कलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताएका छन् । विसं २०७५ फागुनबाट निर्माण कार्य शुरु भएको उक्त योजना २०७६ असार मसान्तमा सम्पन्न भई शुक्रबारमात्रै उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १८ लाख रकम उपलब्ध गराएको थियो ।

त्यस्तै जनश्रमदान रु ३३ लाख १४ हजार गरी कूल रु एक करोड ५१ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष थापाले बताए । उक्त खानेपानी पाइपमार्फत घरघरमा धारा जडान गरी सञ्चालनमा आएसँगै १७० घरधुरीका एक हजार १०१ जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाका सचिव लक्ष्मी रानाले बताए ।

खानेपानी योजना मर्मतसम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाको भनाई छ ।“पिठ्यूँमा डोको बोकेरै पानीका लागि दैनिक चार÷पाँच घण्टा समय बित्ने गरेको थियो”, आयोजनाका सचिव रानाले भने, “अब पानी घर घरमै आएपछि बचत भएको समयलाई उत्पादनसँग जोडेर आय आर्जनतर्फ केन्द्रित हुनेछौँ”, गाउँमा रहेका प्रत्येक घर–घरमा धारा निर्माण भई खानेपानी प्राप्त भएपछि स्थानीयवासी हर्षित छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो आयोजनाको उदघाट्न गर्दै विकासका दृष्टिले पछाडि परेका स्थानलाई प्राथमिकतामा राख्दै योजनाहरु सञ्चालन गरिएको बताएका छन् ।

पहुँचवालाहरुको ठाउँमा विकासका योजनाहरु सञ्चालन हुने तर पहुँच नभएका दुर्गम बस्तीहरु झन् अविकसित हुँदै जान नपाओस् भनेर विकासमा सबैको समान पहुँच पुर्याउने दृष्टिले प्रदेश सरकार अगाडि बढेसँगै गाउँगाउँमा विकास लहर देखिन थालेको मन्त्री बस्नेतको दाबी थियो ।

“जनप्रतिनिधि कहिल्यै शासक हुँदैन, जनताको सेवक भएकाले गाउँगाउँमा रहेका बस्तीहरुका नागरिकको भावना बुझेर योजनाहरु बनाउनुपर्ने छ”, मन्त्री बस्नेतले भने, “प्रदेश सरकारले साढे ३ वर्षमा देखिने खालका कामहरु गर्दै गण्डकी प्रदेशलाई नमूना र उत्कृष्ट प्रदेशका रुपमा स्थापित गर्नेछौँ ।

”गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मीले नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनतर्फ लाग्नुको विकल्प नभएको बताउँदै आर्थिक समृद्धि कामबाट मात्रै सम्भव रहेको बताए ।

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले नगरको विकासका सन्दर्भमा सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताएका छन् । “विकासका लागि राजनीतिभन्दा माथि उठेर लागौँ”, नगर प्रमुख खाँणले भने, “विरोधका लागि मात्रै विरोध होइन विकल्पसहितको विरोध गर्ने पद्धतिको विकास गरौँ ।”