राजनीति

जनताको विश्वासलाई कायम राख्न, काङ्ग्रेसलाई जसरी पनि चुनाव जित्नुपर्छः नेता डा रिजाल

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न काङ्ग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिनुभएको छ । उनले भने, ‘‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, काङ्ग्रेस सत्तामा पनि पुग्दैन तर काङ्ग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव काङ्ग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कास्की काङ्ग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा काङ्ग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए ।