राजनीति

झुट आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै तरुण दलद्वारा बाँके जिल्ला बन्द

नेपालगञ्ज । आफ्ना नेता कार्यकर्ता पक्राउको बिरोधमा नेपाली कांग्रेस निकट तरुण दलले बाँके जिल्ला बन्द गराएको छ ।  

बन्दका कारण नेपालगञ्जको जनजिवन प्रभावीत भएको छ भने शैक्षिक संस्था, कलकारखाना ठप्प छन् । हतियार सहित पक्राउ परेको भनिएका पार्टीका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।

प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।

तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका ६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ ।

तरुण दलका नेताहरुले भने दशैंको बेला डिएसपी शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा लगाएर फसाएको आरोप लगाउदै आएका छन् ।

खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।