खेलकुद

महिलाले ईतिहास रच्दै जित्यो एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं । नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन(एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३(० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५(० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५(१३ ले जितेको थियो ।

दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५(१२ र तेस्रो सेटमा २५(८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो । योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ ।

महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ । पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो ।

यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए ।

यस्तै तेस्रो र चौथो स्थानमा रहेको टिमले तेस्रो स्थानका लागि खेलेका थिए । बिहिबार नै बंगलादेशलाई हराउँदै किर्गीस्तानले तेस्रो स्थान हासिल गरेको थियो ।