आर्थिक

जनता बैंकले संचयकर्ताहरुलाइ १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड द्धारा संचालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कोषमा सहभागि संचयकर्ताहरुलाई आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।

यहि कार्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५÷७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००÷– र काजक्रिया खर्च रु. १०,०००÷– को व्यवस्था गरेको छ ।
आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा (१) र आयकार नियमावली २०५९, को नियम २० को उपनियम (२) बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष (Approved Retirement Fund) का रुपमा स्वीकृती प्राप्तगरी संचालनमा रहेको कोषले बैंक, वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेको छ ।

जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।