खेलकुद

एभिसी सेन्ट्रल जोनउपाधिका लागि नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज (बिहिबार) नेपालले माल्दिभ्संग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ ।

लामो समय अन्तराष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ । समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ ।

प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो । पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।