पु.समाचार

स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज पाँच जनाको उम्मेदारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेदवारी परेको छ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको गत वर्ष मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडाध्यक्ष पद रिक्त रहेको हो । कोहलपुर– ६ मा मतदाताको सङ्ख्या दुई हजार २६ छ । उम्मेदवारी दर्ताका लागि दलका केन्द्रीय र जिल्ला नेताहरु कोहलपुर पुगेका थिए ।

स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने दिन आज नेपालगञ्जबाट अवैध कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । यात्रुवाहक अटोमा पेस्तोल राखेर हिँडिरहेका अवस्थामा बाँके प्रहरीले मेराज अलि सैयदलाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।

बाँकेको डुडुवा गाउँपालिका–४ उचेमसाहका सैयदलाई प्रहरीले आज बिहान १० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ गणेशपुर चोकबाट नियन्त्रणमा लिएको हो । सैयदले चलाउँदै आएको भे१स ८३२६ नंको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइराखेको अवस्थामा सो पेस्तोल बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।