पर्यटन/संस्कृति

चन्द्रविनायक तथा भैरवनाथलाई चावहिलबाट पशुपतिसम्म घुमाइँदै

काठमाडौँ । चन्द्रविनायक जात्राको दोस्रो दिन गणेश र भैरवलाई खटमा राखी चावहिल क्षेत्रमा घुमाउन शुरु गरिएको छ ।

नेपाल संवत् ८०० मा राजा भुपालेन्द्र मल्लको पालामा शुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइन्छ । ऐतिहासिक, सांस्कृतिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ ।

जात्राको दोस्रो दिन अमालकोट कचहरीका द्वारेले पूजा गरेपछि टोलटोलका गुठियारले पूजा आजा गर्ने परम्परा छ । मङ्गलबार बिहान श्री चन्द्रविनायक र श्री भैरवको पूजा गरी जात्रा शुभारम्भ भएको थियो ।

चार दिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । बुधबार र बिहीबार चावहिल चुच्चेपाटीबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाई शुक्रबार सिन्दुर जात्रा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले राससलाई जानकारी दिए ।

उपत्यकाका चार गणेशमध्येको चन्द्रविनायक चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो । एक वर्षअघि पुनःनिर्माण शुरु भएपनि पुराना र नयाँ सामग्रीको विवादले काम रोकिएको छ । जात्रापछि मात्र फेरि पुनःनिर्माण शुरु हुने जनाइएको छ ।