बाग्मती

राजनीतिक दलहरुले लगाए उम्मेदवारी टुंगोः देशैभर चुनावि प्रतिपर्धा तिब्र

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी टुङ्गो लगाएको छ ।

धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताएका छन् ।

नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए पनि क्षेत्रीय समितिबाट टुङ्ग्याउनुपर्ने भएकाले छलफल चलिरहेको जनाएको छ ।

काङ्ग्रेस क्षेत्रीय समितिका सभापति कञ्चनचन्द्र बादेले छलफल गर्न अझै बाँकी रहेकाले दर्ता गर्ने समयसम्ममा टुङ्गो लाग्ने बताए । धुलिखेल नगरपालिका–२ का लागि हुने निर्वाचनमा एक हजार ८७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९४९ र पुरुष ९२८ ले मतदान गर्न पाउनेछन् । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताए । निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले बताएका छन् ।