समाचार

छुट्टा–छुट्टै दुर्घटनामा परि तिन जनाको मृत्यु

पाँचथर । मुलुकको छुट्टा–छुट्टै दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।

निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स१झ २६८ नंको गाडीले को३०प ५३०१ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिएका छन ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।