खेलकुद

(एभिसी) सेन्ट्रल जोनमा आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (बुधबार) नेपाल र माल्दिभ्स भिड्दै छन् ।

एक खेल अगावै फाईनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल पौने २ बजे सुरु हुनेछ ।

सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी माल्दिभ्ससंग खेल्न लागेको हो । फाईनल खेल्नु अघि दुवै टिमलाई एक अर्काको कमजोरी पत्ता लगाउन समुह चरणको अन्तिम खेल महत्वपुर्ण हुन सक्छ ।

दक्षिण एसियाली महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हराएको छ । तर नेपाल पछाडी दक्षिण एसियाली महिला भलिबलमा माल्दिभ्स र भारत बलिया राष्ट्र मानिन्छन् ।

नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाईनल यात्रा तय गरेको हो । राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।