समाचार

बङ्गलादेशका राष्ट्रपति हमिदद्वारा ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन

भक्तपुर । चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरे ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायतको अवलोकन गरे। सो अवसरमा उनले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाचलगायतको अभिरुचिका साथ अवलोकन गरे । हेलिकप्टरबाट सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय अवतरण गरेकी राष्ट्रपति हमिद दूधपाटीहुँदै भक्तपुर दरबारस्क्वायर पुगेकी थिए। त्यहाँ उनलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरे ।

राष्ट्रपति हमिदले सकिमना पूर्णिमाको अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गरे । भ्रमणका क्रममा उनले यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानीसमेत गरे । राष्ट्रपति हमिदसँगै उनकी धर्मपत्नीसहितको टोली नेपालको ऐतिहासिक पर्यटकीय नगरी भक्तपुरको अवलोकन गर्न यहाँ आएको हो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले राष्ट्रपति हमिदलाई भक्तपुरको कला र संस्कृतिबारे जानकारी गराउनुभयो । उहाँलाई भक्तपुरको जुजु धौले स्वागत गरिएको थियो भने प्रसिद्ध मयूरको झ्याल उपहार प्रदान गरियो । राष्ट्रपति हमिदका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र सहभागी थिए ।