समाचार

सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त भन्दै केसीले गरे अनशन स्थगित

डडेलधुरा । वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गरेका छन् । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गरेका हुन् ।

डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औँ अनशन नवौँ दिनमा स्थगन गरेका हुन् ।

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उनले विज्ञप्तिमार्फत बताए । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए ।

प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् ।

सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले बताएका छन् ।

“आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन”, केसीले भनेका छन् ।

उनले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भनेका छन् ।