समाचार

सीमा अतिक्रमण बढेपछि भारततर्फ सशस्त्र प्रहरीका ५९ सीमा पोस्ट थपिँदै

काठमाडौं । सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ ।

भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । अहिले भारततर्फ नेपाली सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ३५ जना रहने गरी १ सय ७ वटा बीओपी छन् । चीनसँग सीमा जोडिएका नाकामा सशस्त्रको स्थायी बीओपी छैन ।

सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुरक्षामा जिल्लास्थित सशस्त्र प्रहरी खटिँदै आएको छ । अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ–लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ।

नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र दक्षिणतर्फ अतिक्रमित र मानव आवतजावत गर्न मिल्ने नाकामा थप बीओपी स्थापना गर्न लागेको हो ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै सीमा सुरक्षाका लागि सशस्त्रको थप फौज तैनाथ गर्न लागिएको औपचारिक जानकारी गराएका छन् । भारतले नेपालसँग सीमा जोडिएका क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) लाई २ देखि ३ किमि दूरीमा तैनाथ गरेको छ ।

नेपालतर्फ भने सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किमिमा छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा छ ।

                                                                                                                  कान्तिपर दैनिकबाट साभार