समाचार

कात्तिक २८ देखि राप्रपा (संयुक्त)ले धार्मिक जागरण यात्रा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)  ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ ।

पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाललाई धर्मनिरपेक्ष बनाइएकामा आफूहरुको आपत्ति रहेको उल्लेख गर्दै हिन्दू राष्ट्र नबनाए सम्म आन्दोलन जारी रहने बताएका हुन् ।

अध्यक्ष राणाले १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेकपोष्ट बसेको र सोबारेमा यसअघिका कुनै पनि सरकारले कुरा उठाउने आँट नगरेको बताएका छन् ।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले शुरु गर्न लागेको धार्मिकयात्रा नेपालको पहिचान कायम गर्नका लागि हुने बताए ।

उनले लिपुलेक र कालापानी क्षेत्रका विषयमा सरकारले भारतसँग मित्रतापूर्वक कूटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।