अन्तर्राष्ट्रिय

इजरायली सुरक्षाकर्मीको गोली लागि एक प्यालेस्टिनी मारिए, कैयौँ घाइते

एजेन्सी । दक्षिणी स्वेस्ट ब्याङ्कमा सोमबार इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन् । प्यालेष्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार अल अरुब शरणार्थी शिविरमा इजरायली सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर एक प्यालेस्टायनीको मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका युवालाई उपचारका लागि तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले उनलाई तत्काल मृत घोषित गरेका थिए ।

इजरायली सैनिकहरुले प्रहार गरेको अश्रुग्याँसका कारण धेरै प्रदर्शनकारी घाइते तथा विरामी भएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको अवस्था स्थीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।