पु.समाचार

विदा बसेर आफूखुशी विादा बस्ने सेनानी तिवारी सेनाको कारवाहीमा

काठमाडौं । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् ।

समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृति बेगर थापाथली इञ्जिनीयरीङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिई “भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ । सैनिक सेवाबाट आफूखुशी भगौडा भएका जो कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ ।