अन्तर्राष्ट्रिय

बाढीबाट विस्थापित केन्यालीलाई राहत वितरण गरिँदैःसंयुक्त राष्ट्रसंघ

उजेन्सी । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाढीबाट विस्थापित केन्यालीलाई हेलिकोप्टरमार्फत आइतबारदेखि राहतका सामान पठाउन थालेको छ ।

केन्या सरकारले बाढीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू देशका अन्य भागमा जोडिन नसकेको र त्यहाँ राहत तथा दैनिक आवश्यकताका सामान पुर्याउन बाटोहरू पानीले पुरिएका, भत्केका वा अवरूद्ध बनेका भन्दै केन्याले सहयोगका लागि राष्ट्रसंघलाई अनुरोध गरेपछि विश्व खाद्य कार्यक्रमले केन्यालाई सहयोग गरेको हो ।

बाढीका कारण विस्थापित खाद्यान्न देशका मन्देरा, वाजिर, गारिसा र ताना नदी क्षेत्रका वस्तीहरूमा खाद्यान्न पु¥याउन एम आई–८ हेलिकोप्टरहरूसहितको टोली उपलब्ध गराएको हो । विस्थापितलाई राहत सहयोग, खाद्यान्न तथा औषधी पु¥याउनका लागि उच्च क्षमताको हेलिकोप्टर पठाएर सहयोग गर्न हामीले अनुरोध गरेका छौँ,” विपत व्यवस्थापन मन्त्री उगेने वामाल्वाले नैरोबीमा एक विज्ञप्ति जारी गरी जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीका कारण सडक सञ्जाल विच्छेद हुँदा विस्थापितलाई पठाउन तयारी अवस्थामा राखेको खाद्यान्न तथा लत्ताकपडासमेत बाढी प्रभावित क्षेत्रमा पु¥याउन कठिनाई परिरहेको छ ।

अब छिट्टै राहत वितरण हुनेछ ।” लामो समय परेको खडेरीपछि अक्टोबरको सुरूदेखि परेको अत्यधिक बर्षाका कारण केन्यामा खाद्यान्न अभाव हुने नागरिकको सङ्ख्या ३१ लाख पुगेको छ । केन्यामा बाढीका कारण ३८ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ७०० परिवारका हजारौँ नागरिक विस्थापित भएका छन् ।

बाढीका कारण दशौँ हजार चौपाया मरेका पनि बताइएको छ । केन्याको मौसम विभागले दिएको जानकारी अनुसार बाढी प्रभावित पूर्वी क्षेत्रमा यस बर्ष सामान्यभन्दा तेब्बर गुणा बर्षा भएको छ ।