गण्डकी प्रदेश

गणेशमान मेरा आदर्श हुनुहुन्छ, कन्फर्म लालकिल्ला तोड्छुः काँग्रेस उमेर्द्वार पौडेल

पोखरा । सर्वोच्च नेता गणेशमान सिंहको १०५ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गणेशमानका आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ ।

जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका–४ स्थित गणशमानको सालिकमा माल्यार्पण गर्दै वक्ताहरूले प्रत्येक राजनीतिकर्मीले राष्ट्रप्रतिको त्याग र समर्पण गणेशमानबाट सिक्नुपर्ने बताए ।

काङ्ग्रेस नेता एवं कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले गणेशमानको आदर्शबाटै आफू राजनीतिमा प्रेरित भएको बताउँदै व्यक्तिगतरूपमा केही पाउने र गुमाउनेभन्दा पनि समाज र राष्ट्रप्रतिको योगदानका लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले कम्युनिष्टको गण सोचेको क्षेत्र नम्बर २ मा लाल किल्ला तोड्ने दाबी समेत गरे ।

राजनीतिक यात्रामा पद र सुविधालाई गणेशमानले कहिल्यै पनि प्राथमिकतामा नराखेको उल्लेख गर्दै पौडेलले उनी प्रत्येक राजनीतिक दलका लागि अनुकरणीय भएको उल्लेख गरे ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले गणेशमान सिंहले नेपालको प्रजातन्त्रिक आन्दोलनमा अतुलनीय योगदान गरेको उल्लेख गर्दै सिंह देश र जनताप्रतिको त्याग र बलिदानको पर्याय जस्तै बनेको धारणा राखे ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि पार्टीले लामो समय देश र जनताका लागि क्रियाशील व्यक्तिलाई उम्मेदवार बनाएको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्ति चुनावमा क्रियाशील बनेर लागेको उल्लेख गरे ।

सो अवसरमा उम्मेदवार पौडेल, पूर्वमन्त्री थापासहित पार्टीका क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला, पूर्व क्षेत्रीय सभापति निर्मल कर्माचार्यलगायतले गणेशमानको सालिकमा माल्यार्पण गरे । पार्टीले कास्की क्षेत्र नं २ मा आजैदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ ।