पु.समाचार

अखिल क्रान्तिकारीद्वारा महेन्द्रनगरमा भारतबिरुद्ध प्रदर्शन

काठमाडौं। भारत सरकारले केही दिनअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको छ । नेपाली राजनीतिक वृत्तमा यसले ठूलै तरङ्ग ल्याएको छ । सरकारले समेत यसको विरोध जनाइसकेको छ । साथै जनतामा व्यापक असन्तुष्टि रहेको कुरा मिडिया र सोसल मिडियामा आएको बहसले नै देखाएको छ ।

पछिल्लो समय अर्धभूमिगत रूपमा आफ्ना राजनीतिक काम अगाडि बढाइरहेको नेत्रविक्रम चन्द विप्लव निकट नेकपाले समेत यस विषयमा मुख खोलेको छ । भारतीय सीमा अतिक्रमणका विरुद्धमा अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिद्वारा कञ्चनपुरको महेन्द्रनगरमा हजारौँ विद्यार्थीसहित विरोध प्रदर्शन गरिएको छ । उक्त विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कञ्चनपुर अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका छन् ।

जुलुसको नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले गरेका थिए । प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुवास जोशीलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्तासहित हजारौं विद्यार्थीको सहभागिता रहेको थियो ।