समाचार

कालापानी विवादबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं । भारतले नेपालको पश्चिमी भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पीयाधुरा र लिपुलेकको भूभाग समेटिएकोमा आपत्ति जनाउँदै सांसदहरुले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने माग राखेपछि समितिले प्रधानमन्त्री ओलीलाई छलफलका लागि आमन्त्रण गरेको हो ।

प्रधानमन्त्री ओलीसँग भारतले जारी गरेको नयाँ नक्साको विषयमा छलफल गरिने संसद सचिवालयले जनाएको छ । यद्यपि भारतले भने नयाँ नक्सामा कश्मिरको भूभागलाई समेटिएको भएपनि नेपाली भूभाग नसेमिटएको दाबी गर्दै आएको छ ।

यसै विषयको छलफलका लागि शनिवार प्रधानमन्त्री ओलीले सर्वदलीय वैठक बोलाएका थिए । सर्वदलीय वैठकले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको निश्कर्ष निकाल्दै भूभाग फिर्ताका लागि कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।