समाचार

१७औँ पटकका अनशनरत डा केसी अस्पताल भर्ना

अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।