समाचार

ब्राउनसुगरसहित तीन पक्राउः फरार अभियुक्त प्रहरी नियन्त्रणमा

राँझा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिएका हुन् ।

अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ । बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए । यस्तै सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य बिहीबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त आचार्यलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिएको छ । उच्च अदालतको इलाम इजलासले २०७४ साल माघ २२ गते निज आचार्यलाई कैद र जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी बहुविवाह मुद्दामा झापा जिल्ला अदालतबाट एक वर्ष कैद र रु पाँच हजार जरिवाना तोकिएको गौरादह नगरपालिका–१ की फरार अभियुक्त चन्द्रकला खेवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाले २०७२ वैशाख २७ गते खेवालाई कैद र जरिवाना गर्ने फैसला गरेको थियो ।

त्यसबेला फरार रहेकी खेवालाई खोजतलास गरी प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि खेवालाई झापा कारागार चलान गरिएको छ ।