अन्तर्राष्ट्रिय

श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह

एजेन्सी । श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ ।

मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण)  वृद्धि भएको भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराउनुभयो ।

बुधबार मध्यान्न श्रीलङ्काको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदुषणको घेराभन्दा माथि अर्थात् ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ) ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो ।

एनबिआरओका वातावरण अध्ययन एकाईका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अङ्कभन्दा माथि पुगेको र मध्यान्नमा १६५ मा झरेको उल्लेख गरी समाचार संपे्रषण गरेका थिए ।

एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अङ्कभन्दा तल रहने गर्छ । नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाब श्रीलङ्कामा परेको हुनसक्ने भएपनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको बिषय हुनुपर्ने र कारणहरू खोजिभइरहेका प्रेमसिरीले बताए ।