खेलकुद

अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौ । अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल ब्यहोरेको नेपालले दोस्रो हाफ थप एक गोल खाएको थियो । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले कुवेतविरुद्वको खेल अगाडी मैत्रीपूर्ण फुटबल खेलेको हो ।

खेलको तेस्रो मिनेटमै नेपाल पछाडी पर्यो । म्यानमारका म्यीन्ट तुन अउङ्गले हेडिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल म्यानमारले पहिलो हाफमा अतिरिक्त समयमा गर्यो । उसका डेभिड हटनले गोल गरेका थिए । गोलरक्षक विकेश कुथुको रिवाउण्डमा उनले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।

अन्तिम गोल म्यानमारले खेलको ६९ मिनेटमा गर्यो । सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।

नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो ।  दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेल जोर्डनसँग ३–० ले गुमाएको थियो । म्यानमारसँग नेपाल पराजित