राजनीति

पौडेलको उम्मेदवारीले काँग्रेसका गुटउपगुट समाप्त, भ्रष्टाचार बिरुद्ध एकजुटः उपसभापति निधि

कास्की । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन जनमतसङ्ग्रह जस्तै भएको बताएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट खेमराज पौडेलको उम्मेदवारी दर्तापछि आज आयोजित घोषणासभामा उनले वर्तमान सरकारका लोकतन्त्र विरोधी कदम, महँगी, भ्रष्टाचार आदिका विरुद्धमा निर्वाचनमा जनताले अभिमत दिने बताए ।

सरकारलाई खबरदारी गर्नका लागि पनि यस उपनिर्वाचनमा जनताले काङ्ग्रेसलाई साथ दिने बताउँदै उनले पार्टीका तर्फबाट पनि लामो समयको त्याग र योगदान गरेका नेतालाई उम्मेदवार सिफारिस गरिएको बताए । कास्की नं २ मा पौडेलको उम्मेदवारीसँगै पार्टीभित्र अन्तरद्वन्द्व, घात अन्तरघातको अध्याय समाप्त भएको बताउँदै आगामी दिनमा पार्टीमा योगदान गर्नेको सही मूल्याङ्कन हुन्छ भन्ने कुरालाई थप प्रष्ट्याएको बताए ।

काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको उल्लेख गर्दै सम्पूर्ण पार्टी पङ्क्ति एकाकार हुने बताए । देशमा लोकतन्त्रको स्थापना र समाजको रुपान्तरणका लागि आफू लामो समयदेखि क्रियाशील हुँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझै जनताको मनोभावनालाई आत्मसात् गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले यस निर्वाचनालाई वाइडबडी विमान खरीद, एनसेल प्रकरणलगायतमा भएका अनियमितताका साथै बढ्दो महँगी, हिंसा, भष्टाचारका विरुद्धमा अभिमत जाहेर हुने चुनावका रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपबाट लिइएको बताए ।

काङ्ग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवंपूर्वमन्त्री महादेव गुरुङ, महासमिति सदस्य देवराज चालिसे, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पूर्वमन्त्री यज्ञबहादुर थापा, काङ्ग्रेस नेता शुक्रराज शर्मालगायतले पौडेलको उम्मेदवारीले पार्टीभित्रको एकतालाई अझै बलियो बनाएको धारणा राखे ।