समाचार

भारतले जारी गरेको नक्साप्रति नेवि संघको आपत्ति, काठमाडौंमा प्रदर्शन

काठमाडौं। नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।

भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको भूमि दाबी गरिएको छ । नेपाली भूभागलाई भारतले आफ्नो भन्न नपाउने भन्दै  नेबि संघले बिहीबार राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए ।

नेबि संघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए।

विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा संघका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार र निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो । संघले बुधबार पनि राजधानीमा प्रदर्शन गरेको थियो ।