समाचार

उपनिर्वाचनको तयारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ ।

बनेपा– धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वडाध्यक्ष राजन कोइरालाको २०७४ भदौ ९ गते निधन भएपछि सो वडामा हुने उपनिर्वाचनमा एक हजार ८७७ मतदाता सहभागी हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताए ।

निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताए ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार कात्तिक २७ गते उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १ गते उम्मेदारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

सप्तरी– उपनिर्वाचनका लागि सप्तरीको छिन्नमस्तामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं सप्तरी जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताएका छन् ।

राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको हो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले अच्छेलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वडाध्यक्षको गत निर्वाचनमा प्रभाकर यादवसँग झिनो मतले अच्छेलाल पराजित हुनुभएको थियो । त्यतिबेला अच्छेलाल स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । राजपा र समाजवादी पार्टीले संयुक्त उम्मेदवार दिने सहमति गरे पनि उम्मेदवार घोषणा गरिसकेका छैनन् ।

नेपाली काङ्ग्रेसले उम्मेदवारबारे छलफल चलिरहेको तर निर्णय नभएको जनाएको छ । गुल्मी– जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुन गइरहेको उपनिर्वाचनका लागि बुधवार रुरुक्षेत्र गाउँपालिकाको मुकाम बलेटक्सारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तत्कालीन नेकपा ९एमाले०बाट वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेगामीको २०७५ साउन १३ गते असामयिक निधन भएपछि सो पद रिक्त रहेको थियो ।

उक्त पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को तर्फबाट गिरीप्रसाद सिंजाली र नेपाली काङ्ग्रेसको तर्फबाट बेदबहादुर दर्लामीलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुने उपनिर्वाचनमा दुई हजार २४८ मतदाता सहभागी हुनेछन् ।

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनका लागि मात्तिम मानेभञ्ज्याङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनमा खिदिमाका एक हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए ।

वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले स्व मणिकुमारकी श्रीमती शिवकला राई, नेपाली काङ्ग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सो नगरपालिकाको वडा नं। ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले बताएका छन् ।

उनका अनुसार, मनोनयपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन कात्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनयपत्र र उजुरीउपर जाँचबुझ कात्तिक २९ गते, मनोनय भएका उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान मङ्सिर १ गते र मतदान मङ्सिर १४ गते हुने कार्यक्रम रहेको छ ।

गलकोट– बडिगाड गाउँपालिका–२ मा हुने उपनिर्वाचनलाई लक्षित गरी बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार ध्रुवबहादुर ढकाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले निर्वाचनमा आचारसंहितालाई पूर्णरूपमा पालना गराउन सरोकारवालाहरुले नै अनुगमन तथा नियमन गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सुरक्षा व्यवस्था चुस्त पारिएकाले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह समेत गरेका थिए । बडिगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

२ नं वडाको निर्वाचन त्रिभुवन नमूना माध्यामिक विद्यालयको दुई मतदान केन्द्रमा हुनेछ । सो वडामा एक हजार ७४२ मतदाता छन् । निर्वाचन कार्यक्रमअनुसार वडाध्यक्षका लागि कात्तिक २७ गते मनोनयन दर्ता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङमा क्षेत्र नं २ को प्रदेशसभा ९ख० मा समेत उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भएका कारण उपनिर्वाचन हुनलागेको हो । दुवै स्थानमा राजनीतिक दलहरुले आ–आफ्ना उमेदरवार उठाएर चुनवामा होमिएका छन् ।