समाचार

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा यतिबेला विभिन्न राजनीतिक दलहरु दमदारका साथ जुटेका छन् । निर्वाचनमा उम्मेदवारी छान्नमा व्यस्त छन् र विभिन्न स्थानबाट उम्मेदवारीको नाम सिफारीस गरिसकेका छन् ।

यस्तै उपनिर्वाचनका लागि बिहीबार (आज )उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेशसभा सदस्यका लागि बाग्लुङ, भक्तपुर र दाङमा उम्मेदवारी मनोनयन हुनेछ।

उम्मेदवारले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। मंसिर १४ मै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ।

उपनिर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दिउँसो ३ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, शनिबार उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ।

आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। सोही दिन साँझ ५ बजेसम्म उम्मेवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसको भोलिपल्ट सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ।

उपनिर्वाचनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले कुनै भयबिना मतदान गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता ईश्वरी पौडेलले प्रदेश प्रमुखहरूको नियुक्ति निर्वाचन आचारसंहिताविपरीत नभएको बताए । ‘आचारसंहिताको कुनै पनि बुँदामा मन्त्रिपरिषद् र प्रदेश प्रमुखहरूको हेरफेर गर्न नहुने भनिएको छैन,’ उनले भने, ‘आचारसंहिताको कुनै बुँदामा प्रदेश प्रमुखको नियुक्ति गर्न नहुने नभएकाले यसबारे सरकारलाई निर्देशन दिन आवश्यक देखिएन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले निर्वाचन आचारसंहिता मिचेर प्रदेश प्रमुख नियुक्त गरेको आरोप लगाउँदै आएको छ । विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिहरू पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी कुल ५२ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ।

आगोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने छन् । मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।