अन्तर्राष्ट्रिय

बाढीका कारण १७ को मृत्यु, तीन लाख ७० हजार विस्थापित

एजेन्सी । सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको छ ।

राष्ट्रसङ्घीय अधिकारीहरूले बाढीका कारण सोमालियामा ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल पनि गरेका छन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयले बाढीबाट पाँच लाख ४७ हजार नागरिक प्रभावित भएको जनाएको छ ।

“देशको बेलेट वेयन जिल्लाका मात्रै ४५ हजार ५०० घर परिवारका झण्डै २ लाख ३७ हजार जना विस्थापित भएको अनुमान गरिएको छ,” कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । खेतीयोग्य जमिन, भौतिक संरचनाहरू, बाटोहरूलगायत पनि भत्किएर क्षतिग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“बाढीका कारण हिर्साबेल्ले, जुबल्याण्ड र दक्षिणपश्चिमी राज्यहरू पनि प्रभावित भएका छन्,” राष्ट्रसङ्घले भनेको छ । विज्ञ र सरोकारवाला निकायहरूले नोभेम्बर महिनाभरी वर्षा भइरहन सक्ने चेतावनी दिएका छन् ।

उनीहरूले रोगको प्रकोप पनि फैलिन सक्ने बताएका छन् । लगातारको ठूलो वर्षाका कारण नदीमा पानीको सतह बढेर डुबान भएको अधिकारीहरूले जानकारी दिएका छन् ।