अन्तर्राष्ट्रिय

लेबनानी पाउण्डको विनिमय दरमा छ प्रतिशत गिरावट

एजेन्सी । विगत दुई महिनादेखि लेबनानी व्यापारीले खाद्यान्नको मूल्यवृद्धि भएको बताएका छन् । लेबनानी पाउण्डसँग अमेरिकी डलरको मूल्य बढेपछि लेबनानमा खाद्यान्नको मूल्यदरमा वृद्धि भएको हो ।

लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरसँग दुई महिना पहिले (अगस्ट) को तुलनामा छ प्रतिशतले कमी आएसँगै लेवनानमा डलरको अभावसमेत देखिन थालेको छ । “चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय वृद्धि भएको मेरो अनुभव छ,” लेबनानको प्रसिद्ध बजार स्पिनीमा नियमित सामान किन्दै आएका उपभोक्ता मोनाले सिन्ह्वासँगको कुराकानीमा बताए ।

मोनाले भने,“पछिल्लो दुई÷तीन महिनामा मेरो खाद्यान्नको बिलमा करिब १० प्रतिशतले वृद्धि आएको छ ।”अर्का उपभोक्ता फेरियलले पछिल्लो समय खासगरी मासु र दुधजन्य सामानको मूल्य आकासिएकोमा आश्चर्य व्यक्त गरे ।

त्यसैगरी पछिल्लो मुद्रा सङ्कटले आफ्नो व्यवसाय धाराशायी भएको कम्प्युटरका सामान आयात गर्ने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने, विदेशबाट सामान खरिद गर्दा डलरमा खरिद गर्नुपर्ने र डलरको मूल्य लेबनानी पाउण्डको तुलनामा बढेकोले कम्प्युटरको सामानमा मूल्य बढाउनुको विकल्प छैन ।

मूल्यमा एक्कासी वृद्धि गर्नुपर्दा व्यापारमा निकै गिरावट आएको उनको धारणा थियो । लेबनानमा डलरको अभाव भएको कथा सुनाउँदै उनले भने, “बैंकहरूले सरकारले तोकेको मूल्यमा लेवनानी पाउण्डसँग डलर साट्न निकै आनाकानी गर्ने गरेकोले विदेशबाट सामान खरिद गर्नका लागि डलरको अभाव हुने गरेको छ ।

यसका कारण डलर साट्न कालो बजारियासँग पुग्नुपर्ने भएको छ ।”उनलेभने “त्यसैले बजार मूल्यमा सामान दिन कठिनाई हुन्छ । डलर साट्दा लागेको आर्थिक भार ग्राहकको थाप्लोमा पर्ने गरेको छ । तर अकस्मात भएको मूल्यवृद्धिको कारण ग्राहकलाई बुझाउन कठिन छ ।

फलतः उनीहरूबाट टाढा हुनुपर्ने बाध्यता व्यापारीको हुन्छ । व्यापार निकै खस्किन थालेको छ ।” सरकारले एक अमेरिकी डलरको मूल्य एक हजार ५०७ लेबनानी पाउण्ड तोकेको छ । आर्थिक मन्दीका कारण डलरको भाउ बढेको, आर्थिक अनिश्चितताका कारण लेबनानबाट विदेशमा गएकाले रेमिट्यान्स (विप्रेषण) पठाउने क्रम घटेकोले लेबनानको वैदशिक मुद्रा सञ्चिती घटेर जर्जर अवस्थामा पुगेको छ ।

यसले गर्दा सामान आयात गर्न डलर साट्न खोज्ने व्यापारी र भ्रमण वा अन्य कारणले विदेश जाने नागरिकले डलरको अभाव झेल्नुपरेको छ । व्यापारी तथा सर्वसाधारणले डलर साट्नु पर्दा सरकारले तोकेका एक अमेरिकी डलर बराबर एक हजार ५०७ लेबनानी पाउण्डभन्दा ५०० पाउण्ड बढी तिरेर पनि डलर साट्न सहज छैन ।

लेबनानीहरूले प्रति डलर एक हजार ६०० लेबनानी पाउण्ड तिरेर डलर पाउँदा ठूलो युद्ध जितेकोजस्तो अनुभब गर्नुपर्ने बाध्यता छ । घरायसी सामग्री खरिद्का लासिग आर्थिक तथा सामाजिक परिषद्का व्यापार प्रतिनिधि आदनान रम्मालले भने, “बैंकले लेबनानी पाउण्डसँग डलर साट्न निकै कडाई गरेका छन् ।

यसको असर सर्वसाधारणसम्म पुगेको छ ।”रम्मालका अनुसार आयातित विदेशी सामानको मूल्यमा सरकारले तीन प्रतिशत दरभार थपेको छ यो सिधै उपभोक्ताबाट उठाउनुपर्ने बाध्यता व्यापारीलाई छ ।आर्थिक मन्दीको प्रभाब व्यापार क्षेत्रमा पर्दा यस बर्षको अन्त्यसम्ममा झण्डै १५ प्रतिशत लेबनानी व्यवसायी आफ्नो पेशाबाट धराशायी बन्ने अवस्था आएको रम्मालले बताए ।

कैयौँले त उनीहरूका व्यवसायलाई विस्तारै खुम्चाइसकेका उनले बताए । लेबनानी उपभोक्ता संघका अध्यक्ष जोहाइर बेरोले लेबनानी सरकारी अधिकारीले यहाँको सम्पूर्ण आर्थिक प्रणालीको पुनरावलोकन गर्ने समय आएको सिन्ह्वासँग बताए ।

उनले भने, “हामीले कृषि र उद्योगका क्षेत्रमा लगानीको संरक्षण गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गरी वैदेशिक आयातमा कम भर पर्नुपर्ने अवस्था टड्कारोरूपमा देखिएको छ । अन्यथा लेबनानको अर्थतन्त्र थप धाराशायी बन्ने छ र लेबनानी बजार मूल्य थप आकासिने छ ।”