राजनीति

राजपाले गर्यो समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार भएको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो । उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच पार्टी एकीकरणबारे पछिल्लो समय चर्चा र बहस हुने गरे पनि नेताहरुबीच औपचारिक छलफल हुनसकेको छैन । अनौपचारिक रुपमा पार्टी एकताका सन्दर्भमा छलफल चलिरहेको राजपाका एक नेताले जानकारी दिए । बैठकले राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका, २०७६ को दफा–६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’, भनी थप्ने निर्णय गरेको छ ।