प्रदेश 1

जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था हनेमा ढुक्क हुनुस्ः मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज यहाँ आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सहज स्वास्थ्यसेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ नागरिकबाट नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताउँदै आगामी नीति तथा बजेटमा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी जनप्रतिनिधि र दक्ष कर्मचारीबाट स्वास्थ्य सेवा प्रदान गर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले सरकारी स्वास्थ्य संस्थालाई आवश्यक पर्ने आधुनिक प्रविधि सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्षजनशक्ति, सर्वसुलभ औषधि सहज गरिने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सक काम छाडेर निजी क्षेत्रमा काम गर्नेलाई दण्डित गरिने बताउँदै परिणाम शून्य हुने स्वास्थ्य शिविरको अनुगमन गरी विधि र प्रक्रियाअनुसार सञ्चालन गरिनेछ भने ।

उनले न्यूनतम सुविधा उपलब्ध नगराउने निजी स्वास्थ्य संस्थामा अव ताला लगाउने भन्दै ट्रष्टको नाममा व्यापार गर्ने एम्बुलेन्स सेवाको विकृति अन्त्य गर्ने जानकारी दिए । प्रदेश योजना आयोगका सदस्य मीना भण्डारीले प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिएको चर्चा गर्दै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने नीति यसमा रहेको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष बबी चाम्लिङ, निजी अस्पताल सङ्घका प्रदेश अध्यक्ष डा शङ्करप्रसाद अधिकारीले प्रदेशको स्वास्थ्य नीतिमा जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुनुपर्ने बताए ।

गोष्ठीमा स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले प्रदेश तहका अस्पताल, आयुर्वेद तथा जनस्वास्थ्य कार्यक्रमको समग्र आवश्यकता, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा सुरेश मेहताले प्रदेश सरकारका स्वास्थ्य कार्यक्रम तथा भावी योजना र सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य कार्यक्रमको समग्र अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेश, जिल्ला र स्थानीय तहमार्फत सञ्चालित कार्यक्रमको प्रगतिको विश्लेषण, कार्यक्रम कार्यको कमी कमजोरी पहिचान र सुधार एवम् यसले सम्बन्धित क्षेत्रका बासिन्दा, महिला तथा लक्षित वर्गलाई पु¥याएको सेवा सुविधा सम्बन्धमा समीक्षा गर्नु तीन दिने गोष्ठीको उद्देश्य रहेको जनस्वास्थय निर्देशनालय धनकुटाका निरीक्षक हरिशङ्करप्रसाद साहले बताए ।

गोष्ठीमा प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख, जनस्वास्थ्य कार्यालय, आयुर्वेद औषधालय सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष र निजी अस्पतालका प्रतिनिधिको सहभागिता रहेको छ ।