समाचार

सुकुटे दुर्घटनाः अझै पाँच घाइते अस्पतालमै

बनेपा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ ।

बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो ।