समाचार

अलपत्र अवस्थामा ८० वर्षीय वृद्धः भन्छन् जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै छ

स्याङजा । खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ ।

गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाडाँ काटिसक्यो, यो बुढेउलीको उमेरमा आफन्तको माया, ममता र स्यारसुसारको आवश्यकता पर्ने बेलामा उनलाई आफन्तकै सम्झनाले टोलाइरने बनाएको छ ।

श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि देवीलाल एक्लो जीवन बिताउँदै आउनुभएको छ । दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका देवीलालकै जिम्मामा परेको छ । उनले आफ्नो विगत सम्झँदै भने, “जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।”

दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उनले बताए ।

नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा खुट्टा काटिएपछि समयमै उपचार नगरी बस्दा खुट्टामा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न रु ५० हजारमा बारी बेचेको उनले सुनाए ।

उनले भने, “अस्पतालको ऋण तिर्न भएको बारी बेचे, अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ यस्तै छ जिन्दगी आफन्त नभएपछि के गर्नु रु” घरमा एक्लै भएपछि अहिले उनको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ ।