कर्णाली प्रदेश

विकटमा टिकटको सास्ती

सिमकोट । हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।

नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् ।

जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् । काठमाडौँमा अहेब अध्ययन गर्दै आएका गोरख तामाङले यही कात्तिक २८ गतेदेखि आफ्नो फाइनल परीक्षा दिन जान टिकटका लागि चार एयरलाइन्सका कार्यालयमा धाउँदा पनि कोही नभेटिएको गुनासो पोखेका छन् ।

यस्तै सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुखेसो गरे । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।

सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एयरलाइन्सले नियमानुसार हप्ताको एक उडान भरिरहेका बताएका छन् । नेपाल एयरलाइन्सले भने एक हप्तामा तीन उडान गर्ने सहमति गरे पनि हप्ताका दुई उडान गर्दै आएको उनले जानकारी दिएका छन् ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो जनक सुनारले गुनासो गरे ।

नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उनले बताए ।