अन्तर्राष्ट्रिय

सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारबाही गर्न स्थानीयको माग

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन् ।

द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले उक्त धारणा सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीका रुपमा पहिलो पटक डार्फर भ्रमण गर्नुभएका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए ।

सन् २००३ मा शुरु भएको हिंसात्मक द्वन्द्वका कारण लाखौंको मृत्यु हुनुका साथै लाखौं मानिस घरबारविहीन भएका छन् । प्रधानमन्त्री हाम्डोकले उत्तरी डार्फर राज्यको राजधानी अल–फासिर शहरका युद्धपीडितलाई पनि भेटेका थिए ।

यहाँ पनि दशौं हजार मानिस वर्षौंदेखि अस्थायी शिविरमा बसिरहेका छन् । “हामी न्याय चाहन्छौं, डार्फरका सबै अपराधीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाऊ” शिविरका मानिसले जोडजोडले चिच्याएका थिए ।

हाम्डोकले डार्फरमा शान्ति स्थापनार्थ सरकारले कार्य गरिरहेको बताउनुभएको थियो । भूगोलका दृष्टिबाट डार्फर क्षेत्र स्पेन देशभन्दा ठूलो छ ।  प्रधानमन्त्री हाम्डोकले भिडलाई सम्बोधन गर्दै भन्नुभयो, तपाइँहरुले उठाएका मागहरुका बारेमा मलाई राम्रोसँग थाहा छ ।

तपाइँहरुका माग सम्बोधन गर्न हामी सबैले मिलेर कार्य गर्नुको विकल्प छैन र डार्फरमा अवश्य दैनिक जीवन सामान्य हुनेछ । डार्फरमा अल्पसंख्यक विद्रोहीहरुले तत्कालीन अरब–प्रभूत्वको ओमार अल–बासिरको सरकार विरुद्ध हतियार उठाएदेखि भिषण जातीय युद्ध चर्किएको थियो ।

बासिरको सरकारले डार्फरलाई आर्थिक तथा राजनीतिक रुपमा अवसरविहीन बनाएको विद्रोहीको आरोप छ । बासिरको सरकारले विद्रोहीलाई समर्थन गरेको भन्दै स्थानीयबासीमाथि बलात्कार, हत्या, लुटपाट र घरहरुमा आगजनी गरेको आरोप छ ।

राष्ट्रसंघका अनुसार यस द्वन्द्वमा करिब तीन लाख मानिस मारिएका थिए भने २५ लाख मानिस विस्थापित भएका थिए ।