अन्तर्राष्ट्रिय

बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न आठ जना पक्राउ

एजेन्सी । बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो ।  बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो ।

गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरुले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ । शुरुमा उनीहरु चिनियाँ भएको विश्वास गरिएको बेलायती प्रहरीले पछि भने भियतनामी भएको विश्वास व्यक्त गरेको छ ।

तर उनीहरुको अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । भियतनामको राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पिडादायक भएको सोमबार बताए ।

भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेको छ । यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो ।