प्रदेश 1

सुन तस्करीको आरोपमा थप दुई पक्राउ, पक्राउस्थल गोप्य

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीबाट पाँच किलोग्राम सुन तस्करीको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भोटखोला गाउँपालिका च्याम्ताङबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कहिले पक्राउ गरेको भन्ने प्रहरीले खुलाउन चाहेन ।

पाँच किलो सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले विशेष सुराकीका आधारमा गत असोज २७ गते भोटखोला गाउँपालिका–२ चेपुवाको घट्टेखोलाबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुनसहित तोप्चेनलाई पक्राउ गरेको थियो ।

चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट बिस्कुट, छुर्पी, चक्लेट राखेको र त्यसको मुनिबाट गाढा नीलो रंगको पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला परेको थियो । पाँच किलो सुन तस्करीमा संलग्न भएको आरोप पक्राउ परेको दुई जनालाई राजश्व अनुसन्धान विभाग पठाइसकेको राईले बताए ।