खेलकुद

महिला भलिबल टोली स्वदेश फर्कंदै

काठमाण्डौ । घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्कंदै छ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली आज साँझ स्वदेश फर्कन लागेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली गत असोज २९ गते थाइल्यान्ड गएको थियो । नेपाली टोलीले त्यहाँ सात अभ्यास खेल खेलेको थियो । नेपालले चार खेलमा जीत तथा तीनमा हार बेहोरेको थियो । नेपालले अब बङ्गलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा भाग लिनेछ । उक्त प्रतियोगिता कात्तिक २२ देखि २७ गतेसम्म हुँदैछ । त्यसपछि नेपाली टोली १३औँ सागको तयारीमा जुट्नेछ । तेह्रौँ साग आगमी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ ।