समाचार

पोषणसम्बन्धी पाँचौ विश्व सम्मेलन आजदेखी शुरु

काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो ।

हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् । सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व आइतबार काठमाडौं आईपुगेका थिए ।

राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० सहभागिता रहेको छ । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी सस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सो सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार ९स्केलिङ अफ न्युट्रेसन (सन) अभियानमा आबद्ध देश, अन्तर्राष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र सङ्घीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलन तयारी बैठक शुरु भएको छ ।

आज साँझ भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाज कल्याण लगायतका विषयमा २५ अलग अलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ ।

साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै काठमाडौं घोषणा पत्र समेत जारी गर्ने जनाइएको छ ।

साथै आगामी सम्मेलनको स्थान समेत सम्मेलनले तोक्ने छ । नेपाल सन अभियानको सक्रिय सदस्य देश हो । सन अभियानको सुरुआतदेखि नेपालले सन सम्मेलनमा भाग लिँदै आएको छ । सम्मेलनमा नेपालले पछिल्लो समय पोषणका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्ने आयोगका उपाध्यक्ष प्रा डा पुष्पाराज कँडेलले जानकारी दिएका छन् ।

कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले पहिलो पटक सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको थियो । पहिलो योजनाको सफलतासँगै आयोगले अन्तरमन्त्रालय समन्वयमा अहिले दोस्रो चरणको पाँचवर्षे योजना कार्यान्वयन गरिरहेको छ ।

हाल सातवटै प्रदेशका पोषणको स्थिति कमजोर भएका ६२ जिल्लाका ६१० स्थानीय तहमा ती कार्यक्रम पुगेका छन् । पछिल्ला समय पोषणका कार्यक्रमले समुदायमा सकारात्मक नतिजा ल्याउन सकिरहेका छैनन । परम्परागत खानखान र पत्त्रु खाना (जंक फुड) प्रति बालबालिका, युवायुवतीको बढ्दो आकर्षणले कुपोषणको समस्या न्यूनीकरणमा सफलता हात परेको छैन ।

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन जना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित रहेका छन् । नेपाल जनसङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनका रहेका छन् ।

सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेको थियो । यसैगरी सोही उमेर समूहका बालबालिकामध्ये २७ प्रतिशत कम तौल, १० प्रतिशत ख्याउटे रहेका छन् । पाँच वर्ष मुनिका बालबालिका अधिक तौल र मोटोपन १।२ प्रतिशत र प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन २२ प्रतिशत र सोही उमेरका महिलाको दुब्लोपन १७ प्रतिशत रहेको छ ।

यसैगरी नेपाल राष्ट्रिय सुक्ष्म पोषकतत्व सर्वेक्षण २०१६ का अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको छ । अर्कोतर्फ बहुआयामिक गरीबी तथा कुपोषणका कारण बालबालिका विद्यालय जानबाट वञ्चितसमेत रहेका छन् ।

धनी वर्गका बालबालिकामा पुड्कोपन १६।५ र गरीब वर्गका बालबालिकामा यो दर झण्डै ५० प्रतिशत रहेको छ । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएका आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँदछन् ।

सन अभियान के हो ?

विभिन्न तहबाट सञ्चालन गरिएका पोषणसम्बन्धी कार्यक्रमलाई विश्वव्यापि रुपमा विस्तार गरी किशोरकिशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणलाई अन्त्य गर्न सो अभियानको जन्म भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको पहल र सदस्य देशको नेतृत्वमा सन् २०१० मा सो अभियान शुरु भएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको सो अभियानमा नेपालले सन् २०११ देखि सक्रिय सदस्यरुपमा योगदान दिँदै आएको छ ।

हाल सो अभियानमा विश्वका विभिन्न ६१ देश सदस्यका रुपमा जोडिएका छन् । अभियानमा जोडिएका अन्य देशमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, इण्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स, ताजकिस्तान, यमन, बुरुण्डीलगायतका रहेका छन् ।

अभियानले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र, सामाजिक अभियान्ता लगायतलाई पोषणका क्षेत्रमा काम गर्न अनुकूल वातावरण तयार गर्न समन्वय गर्दै आएको छ ।

विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोष, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय निकायले अभियानलाई अनुमोदन गरेका छन् । सो अभियानले सन् २०१६ –२०२० का लागि चारवटा रणनीति र मार्गचित्रसमेत तयार पारेको छ ।

पोषणका लागि अनुकूल राजनीतिक वातावरणको विस्तार र दिगोपन कायम गर्ने, पोषणका लागि योगदान पुर्याउन प्रभावकारी कार्यलाई प्राथमिकता दिने, यसको सस्थागत विकास गर्ने, कुपोषण अन्त्य गर्न साझा रणनीति तयार गर्ने र पोषणको लागि आर्थिक स्रोत व्यवस्थापन गर्ने रहेको अभियानको सचिवालयमा कार्यरत सोविता मल्लले जानकारी दिएका छन् ।

सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिका न्युयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए ।