शिक्षा

पाल्पा रामपुरमा विद्यालय भवन निर्माण

बेझाङ । पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविको नवनिर्मित दुईकोठे पक्की भवन निर्माण भएको छ ।

जापानीज संस्था साइतामा युनेस्कोको सहयोगमा निर्मित भवन युनेस्कोका सेक्रेटरी मासाको होण्डाले आइतबार उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै होण्डाले शिक्षा क्षेत्रमा लगानी गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै युनेस्कोको सहयोगमा सन् २०१९ मा निर्मित विद्यालय भवनमध्ये रामतुलसी माविको भवन ९२ औँ रहेको जानकारी दिएका छन् ।

जापानीज समाजसेवी काजुमासा काकीमी ९ओकेबाजे० को पहलमा भवन निर्माणमा सहयोग जुटेको हो । ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयमा भवन निर्माणमा आर्थिक सहयोग गरेको बताउँदै आफूले यस क्षेत्रमा बाँचुञ्जेलसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले साइतामा युनेस्कोको रु १२ लाख र विद्यालयको रु १४ लाख २७० गरी जम्मा रु २६ लाख २७० को लागतमा भवन निर्माण सम्पन्न भएको बताए ।

रम्भामा शीतभण्डार निर्माण

पाल्पाको रम्भा गाउँपालिकामा शीतभण्डार निर्माण भएको छ । गाउँघरमा उत्पादन हुने कृषिउपजलाई लामो समयसम्म सुरक्षित राख्नका लागि शीतभण्डार निर्माण गरिएको हो । रम्भा गाउँपालिका–३ को पिपलटारीमा अगाहखोला साहारा कृषि सहकारीले २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेको छ ।

प्रदेश नम्बर ५ को सरकारबाट रु ९३ लाख, रम्भा गाउँपालिकाको रु २५ लाख सहयोग, सहकारीको रु पाँच लाख गरी जम्मा रु एक करोड २३ लाखको लागतमा शीतभण्डार निर्माण सम्पन्न भएको सहकारीका अध्यक्ष कर्णबहादुर नेपालीले जानकारी दिए ।

गाउँमा उत्पादन भएका तरकारी, फलफूल समयमा बिक्री नहुँदा यहाँका कृषकले कुहाएर खेर फाल्न बाध्य थिए । गाउँको उत्पादनलाई सुरक्षित राख्न, कृषि व्यवसायमा कृषकलाई हौसला बढाउन शीतभण्डार निर्माणमा सहयोग गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताएका छन् ।

यस क्षेत्रमा विशेषगरी आलु, गोलभेँडा, कागती, सिमी, लिची, केरालगायतका कृषि उत्पादन राम्रो हुने गर्छ । सिद्धार्थ राजमार्गसँग नजिकै रहे पनि यो क्षेत्र बुटवल तानसेन बजारमा कृषिउपज बिक्रीका लागि लैजान ढुवानी खर्च महँगो पर्ने भएकाले कृषकले त्यत्तिकै घरमै कुहाउन बाध्य थिए ।

स्थानीय खिमानन्द अर्यालले छ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि शीतभण्डार निर्माण गरिएको हो । पाल्पा जिल्लाकै कृषिउपज भण्डारणका लागि बनाइएको यो पहिलो शीतभण्डार रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताएका छन् । रामपुर नगरपालिकामा पनि शीतभण्डार निर्माणको लागि डिपिआरको काम भइसकेको छ ।