समाचार

राष्ट्रपति भण्डारी छठ पूजाका लागि गुह्येश्वरीमा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरिन् ।

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने गरिन्छ । उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यताअनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसमअनुसारको फलफूल चढाउने गर्दछन् ।

तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अघ्र्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि छठपर्व समापन हुन्छ । राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ ।