प्रदेश 1

हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ ।

माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताए ।