प्रदेश 1

त्रिधार्मिकस्थल हलेसीमा धर्मशाला बनाईने

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावम्बीको सङ्गमस्थल हलेसीमा नेपाल आयल निगमको रु पाँच करोड आर्थिक सहयोगमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको हो ।

नेपाल आयल निगमको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमबाट निर्माण गरिने धर्मशालाका लागि शुक्रबार नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाबीच सम्झौता भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र नगरप्रमुख इवन राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पक्षीय सम्झौतामा नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक विशाल ओझा र नेपाल आयल निगमकै कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपाने साक्षी बसेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरिने धर्मशालाका लागि पहिलो किस्ताबापत रु दुई करोड रकमसमेत शुक्रबारनै नेपाल आयल निगमले नगरपालिकाको खातामा जम्मा गरिदिएको जनाइएको छ ।

पार्किङस्थल सहितको धर्मशाला निर्माण भएपछि हलेसी आउने सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसमेत सोही धर्मशालामा राखिने नगरप्रमुख राईले बताए । “ठेक्का प्रणालीबाट निर्माण गरिने धर्मशालाका लागि सम्झौता गरेलगत्तै ठेक्का दरखास्त आव्हान गर्ने तयारीमा लागेका छौँ”, उनले भने, “ठेक्का खोलेर निर्माण कम्पनीसँग सम्झौता गरेको दुई वर्षभित्र धर्मशाला निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”

हलेसीस्थित गुराँसेमा निर्माण गरिने धर्मशालाका लागि नगरपालिकाले यसअघि नै १८ रोपनी जग्गा निःशुल्क व्यवस्था गरेको थियो । पछिल्लो समय दर्शनार्थी र भक्तजनको निक्कै भीडभाड हुने हलेसीमा यसअघि निर्माण गरिएको धर्मशाला पुरानो र सानो भएपछि सुविधा सम्पन्न धर्मशाला निर्माणको पहल थालिएको हो ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि उत्तिकै प्रसिद्ध हलेसीमा पुरानो संरचना हटाएर भर्खरै जीर्णोद्धारको काम समेत सम्पन्न गरिएको छ । विसं २०४४÷२०४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम गरिएको हो ।

शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर हटाएर तामाको खम्बा राखिएको छ । गुफा प्रवेशद्धारको भित्री भागमा सिमेन्ट प्रयोग गरेर बनाइएको सिँढीमा अहिले प्राकृतिक रुपमै ढुङ्गा बिच्छ्याइएको छ । यसअघिसम्म एउटा मात्र आवतजावत गर्ने मार्ग रहेको गुफाभित्र अहिले दर्शनार्थीको भीडलाई मध्यनजर गरेर छुट्टाछुट्टै मार्ग निर्माणको काम गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए ।

नगरपालिकाले रु एक करोड दश लाखको ठेक्का दरखास्त आह्वान गरेकोमा चार वटा निर्माण कम्पनीबीच घटाघटमा प्रतीक्षा कन्ट्रक्सन प्रालि काठमाडौँले जीर्णोद्धारको काम जिम्मा लिएको थियो । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु ८२ लाख लगानीमा जीर्णोद्धारको काम गरिएको हो ।

हलेसी मन्दिरको मुख्य गुफाअर्थात् महादेव र पार्वतीको मन्दिर रहेको गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो प्राकृतिक रुपले नै बनेको बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन् ।

यी प्राकृतिक भूबनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्रै हो । यसबाहेक हलेसी त्रिधार्मिकस्थलको रुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् ।

नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट ४० किलोमीटर पश्चिममा पर्ने हलेसी तुवाचुङ नगरपालिका–४ मा पर्छ । हलेसीमा शिव र पार्वतीको पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।