मनोरञ्जन

छठ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराज । मैथिली, नेपाली एवं भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित छठ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका अञ्जु यादवद्वारा स्वरवद्ध उक्त गीतको भिडियो जननी फिल्मस् यु–ट््युब च्यानलबाट सार्वजनिक गरिएको हो । जननी फिल्मसको ब्यानरमा दुई वर्षअघि सार्वजनिक ‘सुमिरन मैयाके’ भक्तिमय एल्बम् पश्चात पुनःअर्को धार्मिक, सांस्कृतिक एवं भक्तिमय गीत सार्वजनिक गरिएको हो ।

चर्चित गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दिर्यौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको कोरियोग्राफीसमेत नायिका डोलीले गरेका छन् । युवा सङ्गीतकार दीपेन्द्र रामको सङ्गीत रहेको उक्त म्युजिक भिडियो राजविराजस्थित युनाइटेड रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ । ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको छायाङ्कन एवं सम्पादन प्रेम राउतले गरेका छन् ।

यसैगरी ‘जल्दीजल्दी चलु छठ घाटपर, आब होइय अबेर’ बोलको गीतको सम्पादनसमेत अन्तिमचरणमा रहेको निर्माता श्यामसुन्दर यादवले जानकारी दिए । दत्तकै शब्द रचना रहेको उक्त गीत जनकपुरधामस्थित नटराज प्रोडक्सन स्टुडियोबाट सङ्गीत रोशन मिश्राले दिएका छन् ।

उक्त गीतमा समेत नायिका डोलीले मोडडिङ तथा राउतले छायाङ्कन एवं सम्पादन गरिरहेकी छन्। हालसम्म सार्वजनिक भएका छठ गीतमध्ये दुवै गीत पूर्णरुपमा मौलिक रहेकाले दर्शकहरुले मन पराउने युनाइटेड स्टुडियोका सञ्चालक समिति सदस्यसमेत रहनुभएका गीतकार भूषण सिंहले बताए ।